कृष्णले अर्जुनलाई कर्णको वध गर्न किन बाध्य बनाए ?
पुराणको अनुसार, महाभारतको युद्ध अधर्मलाई नष्ट गरी धर्मको स्थापना गरेको महा युद्ध थियो। युद्धको क्रममा अनेकौँ घटनाहरू भएका थिए, जसले कथालाई अझ बढि विवादास्पद र जटिल बनाएको छ।
युद्धकै क्रममा कृष्णले कैयौँ चोटि अर्जुनलाई धर्म बचाउनको लागि परम्परागत नियमलाई तोड्नुपर्छ भनेर सुझाब दिएका थिए। कर्णलाई मार्नु पनि यसैको एउटा हिस्सा थियो।
सूर्यपुत्र कर्ण, जन्मिँदै सुनको कवच र कुण्डल पहिरिएर जन्मिएका, जसको सुरक्षाले उनलाई कसैले घाउ पनि लगाउन सक्दैनथ्यो। त्यसमाथि कर्णसँग पुरुषमा हुनुपर्ने सबै गुणहरू थियो। जसको कारण युद्धमा उनलाई हराउनु लगभग असम्भव नै थियो।
तथापी, युद्धको बेलामा कर्णले आफूलाई लागेको तीन वटा श्रापको असर भोग्नुपर्यो- गुरु परशुराम, इन्द्रदेव र भूमीदेवी। कर्णको यहि दुर्भाग्यलाई युद्ध जित्ने मौका बनाएका कृष्णले अर्जुनलाई कर्णको वध गर्न बाध्य बनाए।
कर्णलाई आफ्ना गुरु परशुरामले ‘चाहिएको बेलामा शस्त्रअस्त्रको विद्या बिर्सनुपरोस्’ भनेर श्राप दिएका थिए। इन्द्रदेवले जालझेल गरी कर्णको कवच र कुण्डल लुटेका थिए र त्यसको बदला केवल एकचोटि मात्र प्रयोग गर्न मिल्ने इन्द्रास्त्र दिएका थिए, जुनको प्रयोग अर्जुनलाई मार्न भनि राखेका कर्णले घतोत्कचलाई मार्न प्रयोग गर्नुपर्यो। साथै कर्णलाई भूमीदेवीले पनि ‘युद्धको बेलामा रथको पाङ्ग्रा जमीनमा अड्कियोस्’ भनि श्राप दिएकी थिइन्।
यी तीनै श्रापको कारण महाभारत युद्धमा अर्जुनको अगाडि कर्ण विवश हुनुपरेको थियो। ऊसँग न कुनै हतियार थियो, न उसलाई युद्ध गर्ने इच्छा थियो, यस्तो लाचार अवस्थामा कृष्णले अर्जुनलाई कर्णको वध गर्न बाध्य बनाए।
यी तथ्यलाई मध्यनजर गर्ने हो भने, कृष्णको निर्णयमाथि सबैको दुईमत हुनु सामान्य हो। कृष्ण जस्तो धर्मको पालनकर्ताले यस्तो अधर्मी निर्णय किन गरे?
आउनुहोस्, आज यसै विषयमा छलफल गरौँः
१. माध्यमभन्दा लक्ष्य महत्वपूर्ण हो
श्रीमद्भागवदगीतामा प्रष्टै उल्लेख गरिएको छ कि, कृष्णले हामी सबैलाई ‘माध्यमभन्दा लक्ष्य महत्वपूर्ण’ हुन्छ भनेर सम्झाउन खोजेका छन्। मतलब, आफ्नो लक्ष्यमा पुग्नको लागि जुन माध्यम पनि अपनाउन सकिन्छ, तर यत्ति हो कि आफ्नो लक्ष्य असल हुनुपर्छ, धर्मको विरुद्धमा हुनुहुँदैन।karnaमहाभारतको युद्धमा पनि यस्तै भएको छ। कृष्णको एउटै उदेश्य भनेको अधर्मलाई हटाएर धर्मको स्थापना गर्नु थियो। त्यसको लागि जस्तो जालझेल गर्न पनि कृष्ण तत्पर थिए। यहि कुरा उनले अर्जुनलाई पनि सम्झाउँदै थिए। अन्ततः कृष्णको निर्णयले पाण्डवहरूको जीत गराएरै छाड्यो र अधर्मको नाश भयो।
२. परिस्थितिको पूर्ण फाइदा उठाउनुपर्दछ
महाभारत ग्रन्थका अन्य कथाप्रसङ्गहरूमा, कृष्णले जस्तो सुकै परिस्थितिमा पनि संयम बनेर काम गरेका छन्। विषम परिस्थितिमा पनि सानो-सानो कुरालाई ध्यानमा राखेर स्थितिलाई आफ्नो पक्षमा पार्न सफल भएका छन्।
कृष्णको एउटै उदेश्य भनेको युद्ध जितेर अधर्मको नष्ट गर्नु
थियो। त्यसमाथि आफ्नै दाजुभाइहरूसँग युद्ध गर्नुपरेको यस्तो परिस्थितिमा ‘कि मार कि मर’ भन्नुपर्ने अवस्थाको सृजना भएको थियो। कसै न कसैको मृत्यु त अपरीहार्य थियो।
सायद यहि कारणले नै कृष्णले अर्जुनलाई कर्णको वध गर्न बाध्य बनाएका थिए।
३. युद्धको सबैभन्दा ठूलो पर्खाल हटाउन
अर्जुनलाई युद्धमा टक्कर दिएर उसलाई मार्न सक्ने एउटै मात्र योद्धा भनेकै कर्ण थियो। त्यसैले युद्ध जित्नको लागि कर्णलाई मार्नु अत्यावश्यक थियो। फेरि कर्णलाई नमारी युद्धमा अगाडि बढ्नु पाण्डवहरूको लागि लगभग असम्भव नै थियो।
अनि यस्तो जटिल परिस्थितिमा कर्णको दुर्भाग्यको फाइदा उठाएर युद्धमा जीत हासिल गर्न सकिन्छ भने किन नगर्नु? सायद कृष्णको विचार पनि यहि थियो, आखिरमा उनैले भनेका थिए कि माध्यमभन्दा लक्ष्य महत्वपूर्ण हुन्छ।
४. अधर्मप्रति धर्मको पराजय
कृष्णले अर्जुनलाई कर्णको वध गर्न किन बाध्य बनाए भन्ने प्रश्नको जवाफमा सबैभन्दा प्रष्ट उत्तर एउटै हुन आउँछ- “युद्धको परम उदेश्य”
धर्मलाई बचाउनको लागि अधर्मको बीचमा जे आउँछ, त्यसको नष्ट हुनु त अपरीहार्य नै थियो। चाहे त्यो कर्ण होस् या दुर्योधन, अधर्मलाई पछ्याउने सबैको विनाश हुनुपर्छ भन्ने मान्यता कृष्णको थियो।
यी सबै कारणले गर्दा नै आजपनि कर्णलाई महाभारतकै सबैभन्दा महत्वपूर्ण पात्रको रूपमा हेरिन्छ।
Comments
Post a Comment